शनिबार, वैशाख २६, २०८३

फास्ट ट्रयाक निर्माणको समयावधि थपिने

मेरोन्यूज २०८१ फागुन ११ गते १८:१२

काठमाडौँ । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ ।

Advertisement
NiccNicc

नेपाली सेनाले द्रुतमार्ग निर्माणसम्बन्धी जानकारी दिँदै असोज १२ र १३ गतेको भीषण वर्षाले निर्माण कार्य प्रभावित भएको बताए । उनले खोकनाको जग्गा विवाद समयमै समाधान नभए निर्माणको समय थपिनु निश्चित रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाली सेनाले जिम्मा लिएको काम नगर्ने भन्ने कुरै हुँदैन। हामी दिनरात प्रयास गरिरहेका छौँ । तर, असोज १२ र १३ गतेको भारी वर्षाले काममा असर पारेको छ। प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन। साथै, रुख कटानमा बढी समय लागेकाले पनि निर्माणमा ढिलाइ भएको हो। खोकनाको जग्गा विवाद समयमै हल नभए फास्ट ट्रयाक निर्माणको अवधि बढ्ने निश्चित छ ।’

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

फास्ट ट्रयाकको तीन ठाउँमा सुरुङ मार्ग हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ । फास्ट ट्र्याकमा ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहनेछ ।

मन्त्रिपरिषदको २०७४ वैशाख २१ गतेको बैठकले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोहीअनुरुप २०७६ भदौ १ गते स्वीकृत गरिएको यो द्रुतमार्गको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यस आयोजनाको अनुमानित लागत एक खर्ब ७५ अर्ब रुपैयाँ छ ।
 

प्रतिक्रिया