सोमबार, वैशाख ८, २०८२

‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

मेरोन्यूज २०८१ चैत २ गते १७:४०

काठमाडौँ । ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ आज सार्वजनिक भएको छ ।

सांसद सूर्य थापाले उक्त स्मृतिग्रन्थको यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरेका छन् । उनले ग्रन्थले प्यूठानको इतिहासलाई उजागरण गरेको बताए । उनले भक्तिराम उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै उनको देखाएको मार्गदर्शनमा सवै लाग्नुपर्ने बताए ।

सांसद थापाले भक्तिराम जस्ता पुराना पुस्ताको बारेमा ग्रन्थ उल्लेख गरेर उनी एक निष्ठावान, इमान्दार आर्दशकका पात्र रहेको समेत बताए ।

प्यूठान शिक्षित र जागृत समाज रहेको उल्लेख गर्दै भक्तिराम जस्ता अन्य व्यक्तिको बारेमा संस्मरण ग्रन्थ लेख्नुपर्ने उनको भनाई थियो ।

उनले भक्तिरामले प्यूठानको शैक्षिक जागरणको शुरुवात गरेको समेत बताए ।
उनले भक्तिराम अन्याय, अत्याचार नसहने र न्यायको हिमायति, हक्की, एवम् भद्र व्यक्तित्व रहेको समेत बताए ।

कृषि विकास बैंकका उपमहाप्रवन्धक मीनराज पोखरेलले भक्तिरामले प्यूठानको शिक्षा क्षेत्रमा पुर्याएको योगदान सराहनिय रहेको चर्चा गरे ।

कार्यक्रममा भक्तिरामका छोरा हरिप्रसाद पोखरेलले बुवाले गरेको योगदानबारे जानकारी गराउन ग्रन्थ प्रकाशित गरिएको जानकारी दिए । उनले ग्रन्थले प्यूठानको विकासको प्रतिविम्बित गरेको बताए ।

यस्तै ग्रन्थका सम्पादक जीवराम भट्टराईले ग्रन्थ युवा पुस्ताका लागि मार्गदर्शन रहेको बताए ।

ग्रन्थमा ९८ जना व्यक्तिहरुले भक्तिरामको बारेमा लेख्नु भएको छ । प्यूठान ओखरकोटमा जन्मेका भक्तिरामले तत्कालिन विपी कोइरालाको नेतृत्वमा संचालित २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनु भएको उहाँका छोरा हरिप्रसाद पोखरेलले जानकारी दिए ।

ग्रन्थ बाल शिक्षा माध्यामिक विद्यालय, पूर्व विद्यार्थी समाजले प्रकाशन गरेको हो ।

प्रतिक्रिया