शुक्रबार, वैशाख २५, २०८३

तीनकुने घटनामा पक्राउ परेका राई र रोका ३ महिनाअघि पार्टीबाट अलग भएको रास्वपाको दाबी

मेरोन्यूज २०८१ चैत २० गते १७:२७

काठमाडौँ । रास्वपाले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न खोटाङका डा. राजकुमार राई र भगवती रोकालगायतका व्यक्तिहरु ३ महिनाअघि नै पार्टीबाट अलग भएको दाबी गरेको छ । 

Advertisement
NiccNicc

रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठले राई र रोका लगायतका सम्बन्धबारे पार्टीमा जोडेर समाचारहरूबारे ध्यानाकर्षण भएको भन्दै बिहीबार विज्ञप्तिमार्फत यस्तो दाबी गरेका हुन् ।

‘केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नाम प्रस्तुत भएका खोटाङका काङ्ग्रेसका पूर्व नेता रहेका डा. राज कुमार राई, भगवती रोका  लगायतका व्यक्तिहरू विगत करिब ३ महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ ।’

रास्वपाले यसअघि उनीहरू पार्टीको महत्त्वपूर्ण पदमा नरहेको समेत बताएको छ । 

‘कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराइन्छ’, रास्वपाले भनेको छ ।

प्रतिक्रिया