कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजुराणा देउवाले आफू ‘भाइरल’ हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छन्।
इलामको श्रीअन्तुमा साेमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन्।
उनले भनिन्, ‘आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला। तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो।’ मन्त्री डा राणाले नेताहरुको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने अनुभव सुनाइन्।
उनले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको आफूले सुनेको प्रसङ्ग उल्लेख गरिन्। उनले भनिन्, “आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ। अरू पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ।”
मन्त्री डा राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिनुभयो। उहाँले आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट गरिन्।
वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले योभन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने उनको जोड थियो।
मन्त्री डा राणाले नेपाली कांग्रेस पार्टीमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने बताइन्। उनले भनिन्, “कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन। जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ। पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ।”
उनले त्यस अवसरमा इलाम जिल्लाको बृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएकी थिइन्। नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा र इलाम जिल्ला सभापति डम्बर खड्काले इलामको विकासका लागि सङ्घीय सरकारको सहयोगको अपेक्षा गरेपछि मन्त्री डा. राणाले सो आश्वासन दिएकी हुन्।
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया