शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजित : एमाले महासचिव
मेरोन्यूज
२०८२ वैशाख १४ गते १९:४४

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले आज भएको शिक्षक आन्दोलको मुठभेड नियोजितजस्तो देखिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले आज दुःखद् अवस्था सिर्जना भएको बताए । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्तासमेत सकारात्मक दिशामा अघि बढेका वेला भएको मुठभेड नियोजित देखिएको उनले आशंका व्यक्त गरे ।
शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको र वार्ताबाट सहमतिमा पुग्नुको विकल्प नभएको पोखरेलले बताए । दुवैपक्ष गम्भीर ढंगले वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न उनले अनुरोध गरे ।
सम्बन्धित
प्रतिक्रिया