बिहीबार, वैशाख २४, २०८३

गोहीको अण्डा सङ्कलन सुरु

मेरोन्यूज २०८२ वैशाख १५ गते १०:३०

चितवन। चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको हो ।

Advertisement
NiccNicc

राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको उनको भनाइ छ । यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो । गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो ।

यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उनले बताए । यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा सङ्कलन गरिने छ । गत वर्ष २४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो । उनले भने “अहिले गुँड धेरै भेटिएकाले यस वर्ष धेरै गुँडको अण्डा निकालिने अनुमान गरेका छौँ ।”

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

प्रतिक्रिया