मंगलबार, वैशाख २२, २०८३

अटिजम सचेतनाको लागि पाँच किलोमिटर पैदल यात्रा सम्पन्न

मेरोन्यूज २०८२ वैशाख ३० गते २०:५४

काठमाडौं । लेडिज सर्कल नेपाल र एनआरएस स्पोर्ट्स फाउन्डेसन द्वारा शनिवार आयोजित पाँच किलोमिटरको अटिजम सचेतना र अटिजम विशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) को भवन निर्माणको लागि कोष सङ्कलनको गरिएको ५ किलो मिटरको दौड कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement
NiccNicc

ललितपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्य र लेडिज सर्कल नेपालका अध्यक्ष रिशा गडियाले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

उक्त दौड पाटन दरबार स्क्वायरबाट सुरु भएर पुलचोक, जाउलाखेल एकान्तकुना हुँदै पुन पाटन दरबार स्क्वायरमा आएर समापन भएको थियो। कार्यक्रममा अटिजम सम्बन्धी जनचेतनामूलक सामग्री, पर्चा, पम्प्लेट, फ्लेक्स प्रदर्शन तथा जुम्बा गरिएको थियो । अटिजमको बारेमा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक तथा अध्यक्ष सविता उप्रेतीले प्रस्तुतिकरण दिनुको साथै आयोजक संस्था, उपस्थित र स्पोन्सरलाई धन्यवाद व्यक्त गरिन् ।

२५० भन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गराउन आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई आयोजक संस्थाले धन्यवाद दिए ।

१३० जना सदस्य रहेको लेडिज सर्कल नेपालले लामो समयदेखि नै नेपालमा विभिन्न सामाजिक सेवाको कार्यहरू गर्दै आइरहेको छ । विगत १५ वर्षदेखि अटिजम सचेतना, पैरवी, तालिम तथा अटिजम भएका बालबालिकाहरूको सेवामा अविराम क्रियाशील सामाजिक संस्था विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको भक्तपुर शाखामा निर्माण भइरहेको अटिजम स्कुल भवनको लागि सहयोग संकलन गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको थियो ।

(SSDRC) को काठमाडौँ नरेफाँट,गोठाटार र चागुनारायण नगरपालिका ९, ताथली भक्तपुर गरी तीनवटा शाखा सञ्चालनमा छन् । तीनवटा शाखामा हाल ६० जना बालबालिकाहरुले प्रत्यक्ष रुपले शिक्षा,थेरापी तथा दिवा सेवा प्राप्त गरिरहेका छन् ।

प्रतिक्रिया