आइतबार, जेठ ४, २०८२

दीपक माविका विद्यार्थी च्याउखेतीमा

मेरोन्यूज २०८२ जेठ ४ गते १५:५४

म्याग्दी। बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामूहिक रूपमा ‘केन्ये’ जातको च्याउखेती गरेका हुन् ।

विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु ढुङ्गानाले जानकारी दिए ।

शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल आज बिहान पकाएर एक सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बीउसहित विद्यालय परिसरको हाल प्रयोगविहीन रहेको पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेका छन् ।

उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बेच्ने विद्यालयको योजना छ । विद्यार्थीलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिव्या बरालले च्याउखेती प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिएकी हुन् ।

‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत दीपक माविका ४६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०८०/८१ मा भित्तेलेखन र आव २०७९/८० मा वायरिङसम्बन्धी तालिम दिइएको थियो । चालु आर्थिक वर्षमा दीपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ ।

विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख शुरत केसीले बताए । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको उनले बताए ।

प्रतिक्रिया