लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङ। लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ । लमजुङको श्रीमञ्ज्याङ, घलेगाउँ, सिउरुङ, सिङ्दी, करापु, भुजुङ, गिलुङ, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, ढगैँ, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दूधपोखरी, खाँसुरगाउँलगायत गुरुङ समुदायको बाहुल्यता रहेको बस्तीमा अझै घाटु नाच देख्न पाइन्छ ।
वैशाख पूर्णिमाका दिनमा सुरु भएको घाट जारी छ यतिबेला । गुरुङ बस्तीमा साना नानीदेखि वृद्ध आमासम्म सबैले सजिलैसँग घाटु नाच्ने गर्दछन् । तिनैले नाचेको घाटु नाचले गुरुङ बस्तीसम्म पुग्ने सबैको मन लोभ्याउने गर्दछ । हिजोआज गुरुङ बस्तीमा पुग्ने पर्यटकलाई घाटु नाच देखाएर स्वागत गरिने प्रचलन कुनै नयाँ चलन पनि होइन ।
गुरुङ र गुरुङसेनीहरु गाउँमा पाहुना आएपछि हतार हतार गरी सामुदायिक भवनमा गुन्द्री ओछ्याएर घाटु नाच्न थाल्छन् । वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिने प्रचलन गुरुङ गाउँहरूमा रहेको छ ।
गुरुङ संस्कृतिको अमूल्य निधिको रूपमा रहेको यो नाच शास्त्रीय नाच पनि हो । सती र बाह्रमासे गरी यो नाच दुई समयमा नाचिन्छ । सतीघाट श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने यता बाह्रमासे घाटु जुनसुकै समयमा पनि नाच्ने र गाउने गरिन्छ । यी दुवै घाटुको आकर्षण भनेको कुसुन्डा घाटु हो । कुसुन्डाविनाको घाटु नै हुँदैन । गीत र मादलको तालमा नाच्दै गर्दा घाटसरी (घाटु नाच्ने व्यक्ति) हरु बेहोस हुन्छन् भने नाँच्दानाँच्दै बेहोस भएका घाटसरीलाई गीत र मादलको तालले ब्युँउझाउने गरिन्छ ।
नाचमा कम्तीमा दुई र बढीमा तीन जना किशोरी सहभागी गराइन्छ । उनीहरूले शिरमा लाहाको मुकुट, गुन्यु र चोली लगाउने गर्छन् भने दुई घाटसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतीकका रूपमा लिने गरिन्छ । घाट शब्द कसरी नामकरण भयो र यसको अर्थ के हो भन्नेबारेमा खासै भरपर्दो र विश्वासलाग्दो आधार केही पनि छैन । गुरुङ भाषामा घाटु शब्दको अर्थ कतै पनि पाइँदैन ।
नेपाली शब्दकोषमा हेर्दा भने गुरुङ कन्याहरूले गाउँदै नाच्ने एक प्रकारको लोकनृत्य भन्ने उल्लेख गरिएको छ । कसैले घाटली देवीको नामबाट घाट नाम रहन गएको भन्छन् र कसैले घैँटोजस्तो आकारमा नाचिराख्ने भएकाले घैँटो नाच भन्दाभन्दै यसको अपभ्रंश भई घाट भएको किंवदन्ती पनि पाइन्छ ।
गुरुङ जातिको घाट नाच्ने अविवाहित घाटनीले घाटु नाच्ने तीन दिनको अवधिभर लगाएको चुरापोते र कपालको रातो डोरी घाटु नाच सेलाउने अन्तिम दिनमा हिन्दू राजा पर्शुरामका नाममा बनाएको काल्पनिक समाधि (गुरुङ भाषामा चैँदी) मा चढाएर विधुवी भएको नाटक वा रूप धारण गराउने मस्याङ्दी गाउँपालिका–३ स्मृति गुरुङको भनाइ छ ।
गुरुङ जानकारहरुका अनुसार घाटु नाच राजा पर्शुराम र रानी यम्फावतीको कथामा आधारित छ । इतिहासमा यी राजा रानीको उल्लेख नभए पनि गुरुङ जातिले सदियौँदेखि यी राजा रानीसँग सम्बन्धित विभिन्न घटनाक्रमलाई किंवदन्तीका रूपमा आफ्नो संस्कृतिको धरोहरका रूपमा अँगाल्दै आएका छन् ।
जानकारहरूका अनुसार १६औँ शताब्दीतिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र अन्ततः मृत्युसम्मको कथा नै घाटुको विषयवस्तु हो ।
राजा रानीको विवाह, उनीहरुको प्रेम कहानी, शिकार खेल्न गएको प्रसङ्ग, विभिन्न राज्यसँगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलिदानी र रानी सती गएको प्रसङ्ग घाटको कथा सारांश हो । गुरुङ गाउँमा घुम्न आउने पर्यटकहरुको रोजाइमा घाट परेको ढगैँका पूर्णबहादुर गुरुङले बताए ।
उनी भन्छन्, ‘मादलको ताल र टुक्का बिग्रिएमा बेहोस हुन्छन् घाटसरीहरु घाट सुरु हुनुपूर्व देउता बोलाइन्छ । घाटु गुरुहरुले सुरुमा देउचुली, हिमचुली आदि देवीदेउता पुकारेपछि देउता घाटसरीको शरीरमा प्रवेश गर्ने विश्वास गरिन्छ । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरीहरु नाच्ने गर्छन् । यस क्रममा मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुट्यो भने घाटसरीहरु बेहोस नै भइरहने विश्वास छ ।’
देउता चढेपछि घाटसरीहरु बेहोसीमै नाच्ने गर्छन् । यही अवस्थालाई ‘कुसुण्डा’ भनिन्छ । घाटको गीतलाई विशेषगरी चार खण्डमा व्याख्या गरेको पाइन्छ । यसमा जन्मडाँडी, विवाहडाँडी, सिकारडाँडी र कुसुन्डाडाँडी पर्दछन् । यसलाई ‘डाँडी’ पनि भनिन्छ । घाट नृत्य पनि ठाउँ अनुसार फरकफरक रहेको पाइन्छ । तर सबै ठाउँमा नाचिने घाटको कथा भने एउटै हुने घाट गुरुहरु बताउँछन् । घाटसरीहरुको साथमा एक/एक जना सुसारे पनि हुन्छन् । घाट नाचनेहरु रजश्वला भएका, अपाङ्ग तथा अशक्त हुनुहुँदैन भन्ने मान्यता रहिआएको छ ।
विशेष गरेर घाटु नाच पश्चिमाञ्चलको लमजुङ, गोर्खा, तनहँ, कास्की, स्याङ्जाका गुरुङ गाउँहरूमा बढी प्रचलित रहेको छ । यो नाच गण्डकी अञ्चलमा बसोबास गर्दै आएका केही दुरा, मगर र अधिकांश गुरुङ जातिले नाच्दै आएको एक लोकनृत्य हो ।
यसलाई गुरुङ जातिले आफ्नो प्राचीन इतिहास बोकेको संस्कृति नाच ठान्दछ । तर घाटु नाचमा गाउने गीत भने गुरुङ भाषामा छैन र आफ्नो जातीय इतिहास झल्काउने कुनै कथा पनि छैन् । घाटमा गाउने गीतको भाषालाई राम्रो अध्ययन र अनुसन्धान गरेर इतिहास खोज्यो भने सुदूरपश्चिमाञ्चल र भित्रीमधेसमा बस्ने भोजपुरी र थारु जातिको धेरै पुरानो हिन्दू संस्कृति नाच देखिन्छ । किनभने ‘घाट नाचमा गाउने सबै गीतहरू बिहारी, भोजपुरी र थारु भाषामा गाएको पाइन्छ ।
घाटु गीतको भाषा सुन्दा घाटु नाच थालनी भोजपुरी र थारु जातिले नै सुरु गरेको केही जानकारहरू बताउँछन् । घाट स्थापना गर्दा पहिला घाट नाचिसकेको अनुभवी दिदीहरू र घाट गीत गाउने गुरुहरूबाट रजश्वला नभएकी दुई कन्या युवतीलाई नचाउने अथवा सिकाउने प्रचलन छ । हिजोआज कुसुण्डा घाट कमै साथमा मादलको ताल राम्ररी बजाउन सक्नुपर्छ । अन्यथा घाटनीहरू बेहोस भएर ढल्न सक्छन् । लमजुङ जिल्ला गुरुङको उद्गमस्थल मानिन्छ ।
यहाँ गुरुङ समुदायको बाहुल्यता रहको छ । आफ्ना संस्कार संस्कृत जोगाउन कसिएका गुरुङ समुदायले घाटु नाचलाई पनि संरक्षण गर्ने कोसिस गरेका छन् । जिल्लामा बाह्रमासे घाटु बढी नाचिँदै आएको छ । वैशाख पूर्णिमाका दिनमा नाचिने सतिघाट जिल्लामा लोप हुने अवस्थामा छ । ढगैँ, खासुरगाउँलगायत जिल्लाका अधिकांश गाउँमा यस्ता घाटु भने देख्न मुश्किल छ । तर पसगाउँमा भने पूर्णिमा दिनदेखि सुरु भई गत बुधबार बेलुकासम्म चलेको थियो ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया