बच्चा कोरल्दै आगन्तुक चरा

चितवन । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन्। गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन्।
‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु विँडारी वास्तविक तथ्याङ्क नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउँछन्। ती चराले बच्चा कोरलेर आफूसँगै लैजाने उनको भनाइ छ। बच्चा उड्न सक्ने भएपछि भदौ र असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन्।
विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ। त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँसराइ गर्ने विँडारी बताउँछन्। उनका अनुसार यस क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउने गर्दछन्।
जाडो र गर्मीमा ती चरा आउने गर्दछन्। जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन्। नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन्। जाडो मौसममा रसियाको साइबेरिया र मङ्गोलियाबाट नेपाल हुँदै भारतसम्म ती चरा पुग्ने उनले जानकारी दिए।
गर्मीमा यहाँ आउने चरा भारत, श्रीलङ्का, दक्षिण–पूर्वी एशियाली मुलुक र अफ्रिकाबाट आउने गर्दछन्। यी चरा नदी तटीय, वन र घाँसे मैदानमा रमाउने गर्दछन्। विँडारीका अनुसार यो समयमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजाति धेरै हुने गर्दछन्।
वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरी यो मौसममा सुन्दर प्रजातिका चरा आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउँछन्।
रुख र झाडीमा बनाइएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरु देख्न सकिने उनको भनाइ छ। फागुनदेखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोजसम्ममा फर्किसक्ने उनले जानकारी दिए। नेपालमा ९०० प्रजातिका चरा पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातिका चरा पाइने गरेका छन्।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया