शनिबार, वैशाख २६, २०८३

कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस् : राप्रपा

मेरोन्यूज २०८२ जेठ १८ गते २०:२५

काठमाडौं। राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५ गतेदेखि काठमाडौंमा जारी शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरी हस्तक्षेप भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा आपत्ति जनाएको छ। 

Advertisement
NiccNicc

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रहरीको व्यवहारप्रति गंभीर आपत्ति जनाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, निषेधित क्षेत्र घोषणा नगरिएको नक्सालको नारायणचौर क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गर्ने निर्णय भएको छ । 

नारायण चौरमा भएको हस्तक्षेपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना नेता-कार्यकर्ता पक्राउ परेका पनि उनले जानकारी दिए ।पक्राउ परेका नेतालाई भेट्न पुगेका प्रतिनिधिसभाका सांसद तथा राप्रपा कार्यसम्पादन समितिका सदस्य दीपकबहादुर सिंहलाई समेत जिल्ला प्रहरी परिसर भद्रकालीमै नियन्त्रणमा लिइएकोप्रति पार्टीले आपत्ति जनाएको छ।

राप्रपाले यस घटनालाई संविधानविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी प्रवृत्तिको प्रदर्शन भएको जनाउँदै यसले विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथिको अतिक्रमण भएको ठहर गरेको छ।

‘पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा, “’पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरूको अविलम्ब र बिनासर्त रिहाइ गर्न सरकारसँग माग गर्दछौं,’ श्रेष्ठले भनेका छन् । यदि माग सुनुवाइ नभए पार्टीले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने चेतावनी पनि पनि उनले दिएका छन् ।

प्रतिक्रिया