बुधबार, जेठ २१, २०८२

हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

मेरोन्यूज २०८२ जेठ १९ गते १९:३१

मोरङ । अखिल नेपाल फुटबल संघ लाओसविरुद्धको एएफसी च्याम्पियन्सिप छनोट र हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार आयोजित बिदाइका क्रममा एन्फाले २३ जना खेलाडी, प्रशिक्षक, टोली म्यानेजरलाई विदाइ गरेको हो। बिदाइका क्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टोलीलाई जितको शुभकामना दिए।

खेलकुदमन्त्री चौधरीले राष्ट्रले खेलाडीको बृत्तिविकासदेखि आर्थिक पाटोमा समेत सक्षम बनाउँदै लगेको बताए। त्यसैगरी, कार्यक्रममा एन्फाका महासचिव किरण राईले फुटबलप्रतिको गलत भाष्य र नकारात्मक कुरालाई चिर्न टोलीले मैदानमा शतप्रतिशत दिने विश्वास लिए।

खेलाडीलाई शुभकामना दिँदै महासचिव राईले ३ करोड जनताबाट छानिएर राष्ट्रिय टोलीमा समावेश भएका खेलाडीहरुले दुवै राष्ट्रविरुद्धको खेलमा जित हात पार्ने अपेक्षा गरेको बताए। विदेशी प्रशिक्षकको साथमा खेलाडीहरुमा समेत उर्जा थपिएको बताउँदै उनले फुटबलले सबै नेपालीको मन जितिरहेको उल्लेख गरे। किरण चेम्जोंग नेतृत्वमा रहेको टोलीले हङकङविरुद्ध जुन ५ मा मैत्रीपूर्ण खेल खेल्नेछ। कप्तान चेम्जोंगले करिब एकमहिनाबाट राखिएको बन्दप्रशिक्षणले उर्जा थपेको बताए।

कप्तान चेम्जोंगले हङकङविरुद्ध र लोओसविरुद्धको खेलमा जितका लागि खेल्ने बताए। त्यसपछि जुन १० मा एएफसी च्याम्पियन्सीप छनोट अन्तर्गत लाओससँग स्पर्धा गर्नेछ। टोलीको प्रशिक्षकमा अष्टे्रलियाका टम रस, सहायक प्रशिक्षकमा सल्यान खड्गी, गोलकिपर प्रशिक्षकमा विनोद डंगोल, टोली म्यानेजरमा टंक राई, सहायक म्यानेजरमा केशव कार्की रहेका छन्।

प्रतिक्रिया