शनिबार, वैशाख १९, २०८३

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

मेरोन्यूज २०८२ असार १४ गते १६:३६

सिरहा। जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन् । डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो ।

Advertisement
NiccNicc

लहान नगरपालिका–१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार ५०० बढी बिरुवा रोपिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए । उक्त बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने उनले स्पष्ट पारे ।

लहान–१५ को कोइरालो खोला सामुदायिक वन उपभोक्ता समितिले पनि आँप, कागतीलगायत करिब ५०० फलफूलका बिरुवा वनभित्रको खाली क्षेत्रमा रोपेको समितिका अध्यक्ष रुद्र नारायण चौधरीले बताए।

‘एक नागरिक, एक बिरुवा’ भन्ने नारासहित यो महाअभियानले चुरे क्षेत्रका उजाड डाँडाहरूलाई फेरि हरियालीमा परिणत गर्ने लक्ष्य लिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले भने, ‘स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा थालिएको अभियानले चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।’

चुरेको नाङ्गा डाँडामा गरिएको वृक्षरोपणलाई दिगो रूपमा संरक्षण गर्न आवश्यक रहेको भन्दै उनले ती बिरुवालाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे। उनले माटोको कटान, भू–क्षय, पानीको अभावलगायत समस्या समाधान गर्न वृक्षरोपणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

‘चुरे पहाड र मधेशबीचको सम्बन्ध केवल भौगोलिक मात्र होइन, जलवायु, जलस्रोत, कृषि, जीविकोपार्जन र वातावरणीय सुरक्षासँग गाँसिएको विषय हो’, वातावरणविद् उमेश यादवले भने, ‘चुरे संरक्षित रह्यो भनेमात्र मधेस सुरक्षित रहन्छ । कृषि उत्पादन बढ्छ, बाढी र सुक्खा हुनेक्रम घट्छ । भविष्यका पुस्तालाई शुद्ध हावा र पानी उपलब्ध गराउन सकिन्छ । त्यसैले चुरे संरक्षणका लागि गम्भीर, दीर्घकालीन र समन्वित कदम चाल्न आवश्यक छ ।’

प्रतिक्रिया