आइतबार, वैशाख २०, २०८३

पूर्वाधार कार्यालयले ठोरीको सिकारीबासमा पाँच जनाको घर बनाइदिने

मेरोन्यूज २०८२ असार २३ गते ११:१४

वीरगञ्ज (पर्सा)। पूर्वाधार विकास कार्यालय वीरगञ्जले पर्साको विकट ठाउँका रुपमा चिनिने सिकारीबासमा फुसको घरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई दुई कोठे पक्की घर निर्माण गरिदिने भएको छ । कार्यालयले ठोरी गाउँपालिका–३ सिकारीबास फुसको घरमा बसोबास गर्दै आएका पाँच परिवारको लागि ‘जनता आवास कार्यक्रम अन्तर्गत) एकीकृत बस्ती निर्माण गरिदिन लागेको हो । यो बस्ती ठोरीको हुलाकी राजमार्गबाट करिब छ किलोमिटरभित्र पर्दछ ।

Advertisement
NiccNicc

जहाँ पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिर्जभ लगायतको मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ । तर,यहाँका सर्वसाधारण आधारभूत आवश्यकताबाट पनि बञ्चित हुँदै आइरहेका छन् । पूर्वाधार विकास कार्यालय वीरगञ्जका प्रमुख लालबाबु रायले चालु आर्थिक वर्षमा शिलान्यास भए पनि आगामी आर्थिक वर्षसम्म फुसको घरमा बस्दै आएका पाँच जना परिवारको लागि दुई–दुई कोठे एकीकृत घर बनाइदिन लागेको जानकारी दिए ‘‘मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गतप्रति घर तीन लाख ७२ हजार लागतमा निर्माण गर्न लागिएको हो ।

यसमा घरधनीले १० प्रतिशत श्रमदान पनि गर्नुपर्ने हुन्छ,’’ उहाँले भन्नुभयो,‘‘यसअघि जनता आवास कार्यक्रम सघन सहरी तथा भवन निर्माण आयोजनाबाटै सम्पादन हुँदै आइराखेपनि पछिल्लो समय भने पूर्वाधार विकास कार्यालय मातहत व्यवस्थापन र सञ्चालन हुँदै आइरहेको छ ।’’ कार्यालयका अनुसार फलामे ट्रस र जस्ताको छानोसहितको घर निर्माण गर्न लागिएको हो । गत शनिबार ठोरीको सिकारीबासमा आयोजित एक कार्यक्रमबीच एकीकृत बस्तीको शिलान्यास पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पूर्वाधार विकास कार्यालयका प्रमुख रायले संयुक्तरुपमा गरेका थिए ।

सो योजना अन्तर्गत सिकारीबासमा वर्षांैदेखि बस्दै आएका भङ्गीयादेवी थारु, तेत्रीदेवी थारु, रामचन्द्र थारु, भरत महतो थारु, पार्वतीकुमारी थारुको घर निर्माण गरिनेछ । फुसको घरमा बसोबास गर्दै आएका भरत महतो थारुले आफ्नो पक्की घर बन्ने भएसँगै निकै खुसी भएको प्रतिक्रिया दिए ।‘‘ म त जिन्दगीभर नै फुसकै घरमा जीवन गुज्रिएला जस्तो लागेको थियो,’’ उहाँले भने,‘‘अब घर बन्ने भएसँगै हामी पनि वर्षायाममा पानी नचुहिने घरमा बस्न पाउने भयौंँ ।’’

पर्साका प्रजिअ अर्यालले वर्षांैदेखि राज्यको अभिभावकत्व प्राप्त गर्न नसकेका सिकारीबासका जनताका लागि एकीकृत शिविरमार्फत राज्यको अनुभूति गराउन खोजेको बताए । जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख तथा इञ्जीनीयर राकेश साहले शनिबार नै ठोरीको सिकारीबासमा नदीको कटान क्षेत्रमा करिब १० लाख मूल्य पर्ने नदी तटबन्धसहितको जालीको व्यवस्था गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया