प्राध्यापक बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकार्पण

काठमाडौँ । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार विमोचन गरिएको छ ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रको हातबाट संयुक्त रुपमा लोकार्पण गरिएको हो ।
सो अवसरमा उपसभामुख राना मगरले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन् । मधेसमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
उपसभामुख रानाले भनिन्, “एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ । यसरी महिलाहरूले एकापसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनाका साथै सामीप्यता र सद्भावलाई बढाउने काम गर्छ । साथै लेखिका मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु ।”

आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख राना मगरले बताइन् ।
“लेखिका मिश्रले नेपाल आएर नेपाली भाषा सिकेर त्यसलाई पुस्तकका रूपमा हामीसम्म ल्याउन सक्नुहुन्छ भने हामी पनि सक्छौँ, म पनि सक्छु । हामीले आफ्नो ऊर्जा यस्ता सकारात्मक कार्यमा खर्चिनु पर्छ”, उनले भनिन् ।
उक्त कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन् ।
“म सन् १९८६ मा नेपाल आएकी हुँ । यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु”, उनले भनिन् । उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको बताइन् । पुस्तकमाथि पत्रकार नम्रता शर्मा र रोहित भण्डारीले टिप्पणी राखेका थिए ।
कार्यक्रमको आयोजना फ्रन्टलाईन नेपाल प्रा.लि. ले गरेको थियो।









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते
प्रतिक्रिया