शनिबार, माघ १७, २०८२

भियतनाममा पर्यटक डुङ्गा डुब्दा दर्जनौँको मृत्यु

मेरोन्यूज २०८२ साउन ४ गते १४:५७

भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् ।

भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो । यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो ।

भिएनएक्सप्रेस समाचार साइटका अनुसार अचानक भारी वर्षाका कारण पल्टिएको ‘वन्डर सी’ नामक जहाजमा ४८ यात्रु र पाँच चालक दल सदस्य सवार थिए ।

“आकाश अँध्यारो भयो”, हा लङ बे क्षेत्रका बासिन्दा ट्रान ट्रोङ हङले एएफपीलाई भने, त्यहाँ “मुसलधारे वर्षा, आँधीबेहरी र चट्याङसहित औँला बराबरका ठूला असिनाहरू आए ।”

यात्रुहरूमा २० भन्दा बढी बालबालिका सहित राजधानी हनोईबाट आएका गर्ने परिवारहरू अधिकांश थिए ।

शनिबार साँझसम्म सीमा रक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए र ३४ जनाको शव बरामद गरेका थिए ।

रातभर क्याबिनमा तीनजना चालक दलका सदस्यहरूको शव फेला परेको थियो र अझै पनि बेपत्ता रहेका पाँच जनालाई फेला पार्न आइतबार बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

उद्धार गरिएका मध्ये एक जनाको आइतबार अस्पतालमा मृत्यु भएको र मृतकको सङ्ख्या ३८ पुगेको भिएनएक्सप्रेसले जनाएको छ ।

उद्धार गरिएकाहरू मध्ये एक १० वर्षीय केटाले राज्य सञ्चारमाध्यम भियतनामनेटलाई भने, “मैले गहिरो सास लिएँ, एउटा खाली ठाउँबाट पौडिएँ, डुबेँ र त्यसपछि माथि पौडिएँ, मैले सहायताका लागि चिच्याएँ, त्यसपछि सिपाहीहरू भएको डुङ्गाले मलाई तान्यो ।”

हा लङ बे भियतनामको सबैभन्दा लोकप्रिय पर्यटन गन्तव्यहरू मध्ये एक हो । लाखौँ मानिस प्रत्येक वर्ष यसको निलो–हरियो पानी र वर्षावन–शीर्ष चुनढुङ्गाका टापुहरू हेर्न आउँछन् ।

गत वर्ष टाइफुन यागीले तीव्र हावा र छालहरू ल्याएपछि हा लङ खाडीको किनारमा रहेको तटीय क्वाङ निन्ह प्रान्तको डुङ्गा लक क्षेत्रमा ३० वटा जहाज डुबेका थिए ।

यस महिना इन्डोनेसियाको लोकप्रिय रिसोर्ट टापु बालीमा एउटा डुङ्गा डुबेर कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया