मंगलबार, वैशाख २२, २०८३

कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र 

मेरोन्यूज २०८२ साउन १० गते १४:४९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।

Advertisement
NiccNicc

शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर आरोप लगाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘महानगर प्रहरीले कुटपिट गर्दा केही व्यवसायी र संकलकको टाउको फुटेको र अङ्गभङ्ग समेत भएको छ।’  यो सबै कार्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा भइरहेको उनीहरूको आरोप छ । जसअन्तर्गत गरिब, मजदुर र श्रमिक वर्गलाई सहरबाट हटाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।

कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा व्यवसायीहरू कानुन बमोजिम दर्ता भई वर्षौंदेखि कर तिरेर व्यवसाय सञ्चालन गर्दै आएको र देशका स्टिल, प्लास्टिक, कागज, मेटल, ब्याट्रीजस्ता उद्योगहरूका लागि कच्चा पदार्थ आपूर्ति गर्दै आएको उल्लेख गरिएको छ।

प्रतिक्रिया