शुक्रबार, मंसिर १२, २०८२

‘एमजी आईएम ६’ ईभी नेपाली बजारमा, वान टच सुविधासहितका यस्ता छन् आकर्षक फिचर

मेरोन्यूज २०८२ साउन १५ गते १७:११

काठमाडौं । एमजीको इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम–६’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले बिहीबार (साउन १५ गते) काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गर्दै एमजी आईएम–६ सार्वजनिक गरेको हो ।

आईएम–६ (इन्टिेलिजेन्ट मोबिलिटी)मा अत्यधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधि, लक्जरी डिजाइन र उच्चस्तरीय क्षमतामा निर्माण भएको कम्पनीको दाबी छ । याे गाडीले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीकाे दाबी छ ।

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले एमजी आईएम–६ नेपालमा ल्याउन पाउँदा गर्व महसुस भएको बताए । “यो केवल एक ईभी मात्र होइन, स्मार्ट ड्राइभिङको भविष्य हो । उत्कृष्ट रेज, एआई असिस्टेड सुविधा र प्रिमियम क्याबिन अनुभवका साथ यसले नेपालका विद्युतीय यातायात प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ” उनले भने ।

एमजी आईएम–६ अहिले देशभरका सम्पूर्ण अधिकृत एमजी सोरूममा टेस्ट ड्राइभ र बुकिङका लागि खुला गरिएको छ । याे प्रिमियम एसयूभीको मूल्य नेपाली बजारमा ७४ लाख ९९ हजार कायम गरिएको छ ।

एमजी आईएम–६ का विशेषता

एमजी आईएम–६ मा एनभिडिया ओरिन चिपद्वारा सञ्चालित स्मार्ट डिजिटल च्यासिस रहेको छ । यसले सवारीको वास्तविक समयको अवस्थालाई बुझेर नियन्त्रण र सुरक्षामा सुधार गर्नेछ । यसको फ्युचरिस्टिक एआई क्याबिनमा ‘रेनी नाइट मोड’ र ‘वान–टच पार्क’ जस्ता सुविधाहरू छन् ।

कुनै स्थानमा सवारी पार्किङ गर्न परेमा वान टच प्रविधिले स्वचालित रूपमा गर्ने कम्पनीको दाबी छ । साथै, बाहिर निकाल्न परेको अवस्थामा पनि स्वचालित रूपमा निकाल्न मिल्ने सुविधा दिएको छ ।

कम्पनीका अनुसार ४०० भी प्लेटफर्ममा आधारित ७५ किलोवाट आवर ब्याट्री क्षमतासहित यसले ५०५ किमीसम्म (नयाँ युरोपियन ड्राइभिङ साइकल रेन्ज–एनईडीसी) यात्रा गर्न सकिने छ । साथै, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेञ्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन लगायतका सुरक्षा प्रणालीहरूले यात्रुलाई भरपर्दो बनाइएको कम्पनीले बताएकाे छ ।

गाडीकाे अर्को आकर्षक विशेषता भनेको १२ डिग्रीसम्मको पछाडिको पांग्रा स्टेयरिङ र ५.०९ मिटरको टर्निङ रेडियस रहेको छ । जसले सहरका साँघुरा सडक र पार्किङमा यसलाई सजिलै मोड्न सकिन्छ । नेपालको साँघुरो सडकका लागि यो अति नै उपयोगी हुने कम्पनीकाे भनाइ छ ।

आईएम–६ मा वान–टच सुविधामार्फत स्वतः पार्किङ, साँघुरा ठाउँबाट सुरक्षित रूपमा बाहिर निस्कने, अघिल्लो बाटोमा फिर्ता जाने र पार्किङ सजिलो हुने सुविधा उपलब्ध छ । यस्तै आईस्मार्ट एपमार्फत गाडी बाहिरैबाट तापक्रम नियन्त्रण, ब्याट्रीस्तर जाँच, स्थान पत्ता लगाउने सुविधा पनि प्रयोग गर्न सकिने बताइएकाे छ ।

एसएआईसीको ‘इन्टेलिजेन्स इन मोसन’ अवधारणामा आधारित एमजी आईएम–६ लाई प्रविधि कम्पनी अलिबाबाकाे पनि साथ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया