सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएका छन् ।
शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।
यसै अवसरमा छोराछोरीले आज परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरी बाबुको मुख हेरेका छन् । बाबु नहुनेले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।
मन्दिर क्षेत्रमा अहिले पनि भक्तजनको लाम लागिरहेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीको मेलामा पनि लाखौँ भक्तजनले दिवंगत पितृप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले सुनाए। अरु दान दीन दुःखीलाई दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको उनले उल्लेख गरे।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया