बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

गोरखा। मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।
गोरखा नगरपालिका(१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर खेतमा सुकाएका छन्”, उनले भने, “धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । नकाटेकाहरूको पनि पानीले बाला झारेको छ ।” बेमौसमी वर्षात्का कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको उनको भनाइ छ ।
बेमौसमी वर्षाले जिल्लाको धानबालीमा क्षति पुर्याएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । उनका अनुसार यतिबेला जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने करिब ४० प्रतिशतले धान काटिसकेका र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् । वर्षाले विशेषगरी काटेर खेतमा सुकाएको धानबालीमा क्षति पुर्याएको उनले बताए ।
“यो यामको मुख्य बाली धान हो । किसानहरू यतिबेला धान भित्र्याउने काममा व्यस्त छन् । यस्तो अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई असहजता भएको छ”, बस्ताकोटीले भने, “अहिलेसम्मको अवस्था हेर्दा गोरखामा भारी वर्षा भएको छैन । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ ।” वर्षा नरोकि पाक्दै गरेका र काटेर सुकाएका धानलाई समस्या नहुने भन्दै उनले थप वर्षा भएमा धान झर्ने समस्या हुनसक्ने बताए ।
जिल्लामा धानखेती हुने १० हजार १४० हेक्टरमध्ये गत वर्ष नौ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यस वर्ष क्षेत्रफल घटेर आठ हजार ५६५ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३९ हजार ९०० मेक्ट्रिकटन धान उत्पादन भएकामा खडेरी र बाँझोपनका कारण यस वर्ष घट्ने अनुमान कृषि प्राविधिकले गरेका छन् ।
बेमौसमी वर्षात्का कारण पनि यो वर्ष धानको उत्पादन घट्नसक्ने केन्द्रका प्रमुख बस्ताकोटीले बताए । गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायत उन्नत जातका र हाइब्रिडमा च्याम्पियन, युएस–३१२ धान रोपाइँ हुने उनले जानकारी दिए । उनका अनुसार केहीले स्थानीय जातका धानका बिउ पनि रोपेका छन् ।
जिल्लाको दरौँदीफाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँटलगायत स्थानमा धान उत्पादन बढी हुने कृषि केन्द्रले जनाएको छ । जिल्लाको तल्लो भेगमा वर्षात् र माथिल्लो भेगमा भारी हिमपात भएको छ । उत्तरी गोरखाका विभिन्न गाउँबस्तीमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुव्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । उनले भने, “अहिले यहाँका नागरिक घरभित्रै आगो तापेर बसिरहेका छन् । चौरीहरू पनि भित्रकोभित्रै छन् ।” उनका अनुसार यस वडाको तीन हजार मिटर भन्दा माथिको उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।
त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा पर्ने लार्केपासमा गएका पर्यटकहरू फर्किएका छन् भने कतिपय सामागाउँ, साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।
वर्षाले हालसम्म जिल्लाको कुनैपनि सडकखण्ड अवरुद्ध नगराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया