बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

गोरखा। मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।
गोरखा नगरपालिका(१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर खेतमा सुकाएका छन्”, उनले भने, “धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । नकाटेकाहरूको पनि पानीले बाला झारेको छ ।” बेमौसमी वर्षात्का कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको उनको भनाइ छ ।
बेमौसमी वर्षाले जिल्लाको धानबालीमा क्षति पुर्याएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । उनका अनुसार यतिबेला जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने करिब ४० प्रतिशतले धान काटिसकेका र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् । वर्षाले विशेषगरी काटेर खेतमा सुकाएको धानबालीमा क्षति पुर्याएको उनले बताए ।
“यो यामको मुख्य बाली धान हो । किसानहरू यतिबेला धान भित्र्याउने काममा व्यस्त छन् । यस्तो अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई असहजता भएको छ”, बस्ताकोटीले भने, “अहिलेसम्मको अवस्था हेर्दा गोरखामा भारी वर्षा भएको छैन । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ ।” वर्षा नरोकि पाक्दै गरेका र काटेर सुकाएका धानलाई समस्या नहुने भन्दै उनले थप वर्षा भएमा धान झर्ने समस्या हुनसक्ने बताए ।
जिल्लामा धानखेती हुने १० हजार १४० हेक्टरमध्ये गत वर्ष नौ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यस वर्ष क्षेत्रफल घटेर आठ हजार ५६५ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३९ हजार ९०० मेक्ट्रिकटन धान उत्पादन भएकामा खडेरी र बाँझोपनका कारण यस वर्ष घट्ने अनुमान कृषि प्राविधिकले गरेका छन् ।
बेमौसमी वर्षात्का कारण पनि यो वर्ष धानको उत्पादन घट्नसक्ने केन्द्रका प्रमुख बस्ताकोटीले बताए । गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायत उन्नत जातका र हाइब्रिडमा च्याम्पियन, युएस–३१२ धान रोपाइँ हुने उनले जानकारी दिए । उनका अनुसार केहीले स्थानीय जातका धानका बिउ पनि रोपेका छन् ।
जिल्लाको दरौँदीफाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँटलगायत स्थानमा धान उत्पादन बढी हुने कृषि केन्द्रले जनाएको छ । जिल्लाको तल्लो भेगमा वर्षात् र माथिल्लो भेगमा भारी हिमपात भएको छ । उत्तरी गोरखाका विभिन्न गाउँबस्तीमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुव्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । उनले भने, “अहिले यहाँका नागरिक घरभित्रै आगो तापेर बसिरहेका छन् । चौरीहरू पनि भित्रकोभित्रै छन् ।” उनका अनुसार यस वडाको तीन हजार मिटर भन्दा माथिको उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।
त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा पर्ने लार्केपासमा गएका पर्यटकहरू फर्किएका छन् भने कतिपय सामागाउँ, साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।
वर्षाले हालसम्म जिल्लाको कुनैपनि सडकखण्ड अवरुद्ध नगराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया