जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली)। यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर” भनेर सम्बोधन गर्छन् । तर उहाँ न त डाक्टर न वैद्य नै छन्।
जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिनुभएका उहाँको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन्। हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उहाँकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउछन् । छामेरै भन्छन्, “यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।” त्यसपछि उपचार गर्छन् ।
आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्याङ्क छैन । त्यसो त उहाँले यो सीप संयोगले प्राप्त गर्नुभएको होइन । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उहाँमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थ्य । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे।
अहिले त्यही सीप उहाँको परिचय बनेको हो । ४० वर्ष भन्दा बढी भयो उहाँले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेका छन् । उहाँको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् । कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो ।
बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउनु हुन्छ । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन् । उहाँका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्नुहुन्न । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन्। भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, “मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन् ।
अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।” हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् । उपचारमा उहाँ प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्नुहुन्छ । कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउछन् ।
उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । “मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,” उनी भन्छन्, “उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो ।” उनीआफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहान्छन्। उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् “अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।”
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया