निर्वाचनमैत्री समाचार सामग्रीलाई प्राथमिकता दिन सरकारी सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी क्रियाशील रहेकाले यस कार्यमा सहयोग पुग्ने समाचार सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गर्दै उनले यस कार्यमा सरकारी सञ्चारमाध्यम थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले सरकारको प्राथमिकतामा रहेको निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा ‘जेनजी’ पुस्ताको भावनाअनुरूपका ‘कन्टेन्ट’ सम्प्रेषण गर्न आग्रह गरे। “सरकार निर्वाचन, सुशासन र जेनजीको आवाजलाई सम्बोधन गर्न क्रियाशील छ । यसमा सबैको सहयोगका लागि पछिल्लो समय चरणबद्ध रूपमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग वार्ता र संवाद गरेर सहजीकरणमा लागेको छ”, उनले भने,“यसमा आमसञ्चार माध्यमको अझ बढी भूमिका छ ।
यसमा सरकारी सञ्चार माध्यमले अझै जिम्मेवार रूपमा निर्वाचनको माहोल बनाउन र पछिल्लो समय उत्पन्न परिस्थितिको सहज रूपान्तरणका लागि भूमिका खेल्नसक्छन । त्यसका लागि यहाँहरू सबैलाई मेरो आग्रह छ ।” निर्वाचनको माहोल बनाउन सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिसँग निरन्तर संवाद र अन्तरक्रिया गरिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा यही कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच संयुक्त छलफल भएको थियो ।
त्यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलपल भएको थियो । यी छलफलले निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको मन्त्री खेरेलको भनाइ छ । निर्वाचन, सुशासन र जेनजीको भावनाअनुरुप काम गर्न सरकारले सरोकार भएकाहरूसँग निरन्तर विभिन्न चरणमा छलफल र पैरवी गरिरहेको उहाँले बताउनुभयो । सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचन केन्द्रित भएर विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफललाई समेत प्राथमिकतामा राखेको बताए।
“फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै खाले तयारी गरिरहेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जेनजी प्रतिनिधि पनि सकारात्मक र प्रतिबद्ध रहेको पाएका छौँ”, उहाँले भन्नुभयो,“यिनै विषयवस्तुलाई प्राथमिकतामा राखेर समाचार, तस्बिर, श्रव्यदृश्यलगायत सामग्री पस्कन अनुरोध छ ।” मन्त्री खरेलले निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जानसक्ने खतरा रहने भन्दै सरकार निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको दोहो¥याउनुभयो । “यसर्थ राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमले निर्वाचनको पक्षमा बहस र पैरवी गर्न जरूरी छ ।
सरकारी सञ्चारमाध्यमले निर्वाचन, सुशासन र ‘जेनजी’सम्बन्धी विषयवस्तु उत्पादन, प्रसारण र सम्प्रेषण गर्न जोड दिनुप¥यो । जेनजी समूहको आवाज, सहिद परिवारका भनाइ, उनीहरूका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकतामा राखेर प्रकाशन, प्रसारण गर्न मेरो आग्रह छ”, उनले भने । सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दबाब सरकारी सञ्चारमाध्यममा नभएकाले निर्धक्क साथ आमनागरिकको सर्वोपरी हितमा निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गर।
उहाँले परिवर्तित सन्दर्भमा सरकारी सञ्चारमाध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेनजी भ्वाइस’ शीर्षकमा जेनजी सहिद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुनेगरी समाचार, श्रव्यदृश्यलगायत सामग्री दिन आग्रह गर्नुभयो । छलफलमा सरकारका चारवटै सञ्चारमाध्यमका प्रतिनिधिले निर्वाचनसहित सरकारका गतिविधि, सुशासन, जेनजीका सरोकार र प्राथमिकता, आर्थिक विकासलगायत विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिएको बताए ।
उनीहरुले रकारका काम कारबाहीसम्बन्धी सूचना र गतिविधि एकद्वार प्रणालीमार्फत प्रवाह गर्ने प्रबन्धका निम्ति सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक उत्तम सिल्वालले निर्वाचन, सुशासन र जेनजीको भावनाबमोजिमका समाचार सामग्रीलाई राससले प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको बताए ।
राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले सरकारी निकायको सूचना पहुँच सहज र जेनजी सहिद तथा घाइतेका विषयवस्तुलाई प्राथमिकताका साथ सम्प्रेषण गरिने प्रतिबद्धता जनाए । गोरखापत्र संस्थानका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतले निर्वाचनको वातावरण बनाउनेगरी विषयवस्तु, सुशासन र जेनजीका विषयलाई समाचार सामग्रीमा प्राथमिकता दिइएको बताए ।
संस्थानका डिजिटल प्रमुख नारदमणि गौतमले सरकारी सूचना र गतिविधि सङ्घीय सरकारका मन्त्रालय र निकायबाट एकद्वार प्रणालीमा आउनसके सम्प्रेषणमा सहज हुने उल्लेख गर । सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्प राईले परिवर्तित सन्दर्भमा बढी सचेत र संवेदनशील भएर काम भइरहेको जानकारी दिए । नेपाल टेलिभिजनका अनलाइन संयोजक गोविन्द धितालले निर्वाचनका मुख्य पक्ष राजनीतिक दललाई निर्वाचनको पक्षमा लैजान तथा जेनजी समूहको आधिकारिकता र प्राथमिकताका विषयलाई सम्प्रेषण गरिने प्रतिबद्धता जनाए।
सार्वजनिक सेवा प्रसारण नेपाल,रेडियो नेपालका समाचार महाशाखा प्रमुख पवन प्याकुरेलले निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल र जेनजीको भूमिकाको विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने काम भइरहेको जानकारी गराए । रेडियोका उपनिर्देशक प्रमोद दाहालले सरकारको प्राथमिकताको आधारमा विषयवस्तुमा एकरुपता कायम गरिनुपर्ने, निर्वाचन र जेनजीको आवाजलाई विशेष प्राथमिकता दिइनुपर्नेमा जोड दिए।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया