आइतबार, वैशाख २०, २०८३

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

मेरोन्यूज २०८२ कार्तिक ३० गते १०:४९

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो ।

Advertisement
NiccNicc

त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताए ।कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उनको भनाइ छ । त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि चार करोड बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताए ।

बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिए । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो ।

निर्माण कम्पनीले त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ । उक्त सडकको मार्ग खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट पवित्र धार्मिक क्षेत्र बुढाल मष्ट मन्दिर–छलसम्म नालासहितको ग्राभेल सडक निर्माण गरिने उनको भनाइ छ । 

प्रतिक्रिया