मंगलबार, मंसिर ९, २०८२

महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ : महासचिव पोखरेल

मेरोन्यूज २०८२ मंसिर ८ गते १९:४३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने प्रष्ट्याएका छन् ।

महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरिसकेकाले महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुने बताएका हुन् ।

‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित रहेर हुने छन्’, उनले भने ।

अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा राजनीतिक, सांगठानिक प्रस्ताव र विधानमा थप बहस र परिमार्जन आवश्यक रहेको बताइरहँदा महासचिवको यो भनाइ आएको हो ।

पोखरेलले भनेका थिए, ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।’

महासचिव पोखरेलले ११ औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने जिकिर गरे । महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दोहोर्‍याए ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डाम केन्द्रित गर्ने बताए ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा बागमती प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताए । प्रदेश संगठनलाई सुदृढ बनाउने र राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित बागमतीलाई केन्द्रबिन्दु बनाइएको उनले बताए ।

प्रतिक्रिया