आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै

काठमाडौँ। त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।
श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ ।
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया