शनिबार, पुष १२, २०८२

नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन

मेरोन्यूज २०८२ पुष १२ गते १८:४३

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए ।

आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए ।

‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? आज सरकार कसले बनाइदियो ? कसको सिफारिसमा मन्त्रीहरू बनिराखेका छन्, राजेन्द्र लिङ्देनले यहाँबाट भन्नुपर्छ ? त्यतिमात्रै होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हानुपर्छ त्यो पनि विदेशीहरूले बनाइदिँदैछन् भन्ने तपाईंहरूले सुन्नुभएको छ,’ लिङ्देनले भने, ‘यतिमात्रै होइन, विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन् । भने, देश एउटा गम्भीर संकटमा फस्न लागेको छ ।’यो संकटबाट जोगाउने विकल्प एउटा मात्रै राप्रपा रहेको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उनले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गरे । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिन आवश्यक छ”, उनले भने ।

देश हाल गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटतर्फ उन्मुख भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यस अवस्थाबाट निकास पाउने लोकतान्त्रिक उपाय स्वच्छ, निष्पक्ष र समयमै हुने निर्वाचन नै भएको बताए । जनताको जनादेशमार्फत बलियो नेतृत्व स्थापित नगरेसम्म राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार नहुने उहाँको भनाइ थियो । राप्रपा नेता विक्रम पाण्डेले पछिल्ला वर्षमा भएका आन्दोलन, राजनीतिक अस्थिरता र निर्णयहीनताका कारण देश र जनताले ठूलो पीडा भोग्नुपरेको बताए ।

उनले लामो समयदेखि जारी अन्योलले आर्थिक गतिविधि प्रभावित हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको भन्दै संविधानअनुसारको निर्वाचन नै समस्याको समाधान भएको बताए। नेता ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरताका कारण बेरोजगारी, महँगी र युवाको विदेश पलायन तीव्र बनेकाले अब जनताले मतमार्फत आफ्नो भविष्यको निर्णय गर्नुपर्नेमा जोड दिए । नेतृ खुश्बु ओलीले देशको हित र पहिचान जोगाउन बलियो राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताए ।

प्रतिक्रिया