क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग गरेको व्यापारिक सहमति कार्यान्वयन भएमा क्यानडाबाट आयात हुने वस्तुहरूमा उच्च आयात शुल्क लगाइने सङ्केत दिएको छ । यसले क्यानडा र संयुक्त राज्य अमेरिकाबीच हाल देखिएको मतभेदलाई थप स्पष्ट बनाएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई चीनका वस्तुहरू संयुक्त राज्य अमेरिकामा प्रवेश गराउने माध्यमका रूपमा प्रयोग गरिनु उपयुक्त नहुने बताए । उन्ले क्यानडाको हालको कदमप्रति गम्भीर ध्यानाकर्षण रहेको उल्लेख गरे ।
क्यानडाले हालै चीनसँग विद्युतीय सवारीसाधन तथा कृषि उत्पादनसम्बन्धी आयात–निर्यात शुल्क घटाउने सहमति गरेको थियो । प्रारम्भिक चरणमा यसप्रति सकारात्मक प्रतिक्रिया जनाइए पनि पछिल्लो समय अमेरिकी पक्षबाट असहमति व्यक्त गरिएको देखिएको छ ।
आयात शुल्क कहिले र कुन ढाँचामा लागू हुने भन्ने विषयमा अमेरिकी राष्ट्रपति कार्यालयले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन । तर क्यानडाको निर्णयप्रति चासो र चिन्ता रहेको स्पष्ट गरिएको छ ।
यस विषयमा क्यानडाका व्यापारसम्बन्धी मन्त्री डोमिनिक लेब्लाङले क्यानडा र चीनबीच केही महत्वपूर्ण व्यापारिक विषय समाधान भएको जानकारी दिँदै पूर्ण स्वतन्त्र व्यापार सम्झौताको प्रयास भने नरहेको बताएका छन् ।
पछिल्लो समय क्यानडा र संयुक्त राज्य अमेरिकाबीच विभिन्न अन्तर्राष्ट्रिय तथा कूटनीतिक विषयमा मतभेद देखिँदै आएको छ । स्विट्जरल्यान्डमा आयोजित विश्व आर्थिक मञ्चका क्रममा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले व्यक्त गरेको धारणा पछि दुवै देशका नेताबीच विचार भिन्नता थप प्रकट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।
यद्यपि क्यानडा, अमेरिका र मेक्सिकोबीचको विद्यमान व्यापार सम्झौताका कारण क्यानडा केही हदसम्म आयात शुल्कको प्रभावबाट सुरक्षित रहेको विश्लेषकहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार क्यानडाले आफ्नो वैदेशिक व्यापार नीति विविधीकरण गर्ने प्रयासस्वरूप चीनसँग सम्बन्ध विस्तार गरिरहेको छ, जसले उत्तर अमेरिकी व्यापार संरचनामा नयाँ विमर्श जन्माएको छ ।
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया