अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को सङ्केत मानिएको छ ।
फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी पूर्णस्तरको आक्रमण हुनुअघि बढ्दो तनावका कारण सन् २०२१ को अन्त्यतिर मस्को र वासिङ्टनबीच उच्च–स्तरीय सैन्य सञ्चार रोकिएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान चलाउँदा युद्ध तत्काल अन्त्य गर्ने वाचा गरेका थिए । उनका केही शान्ति प्रस्तावहरूले क्रेमलिनलाई अनुकूल देखिएको भन्दै आलोचना पनि भएको छ, जसमा युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने धारणा समावेश छन् ।
पुनःस्थापित सैन्य सञ्चार च्यानलले दुवै पक्ष स्थायी शान्तितर्फ काम गरिरहेका बेला नियमित सैन्य–सैन्य सम्पर्क सुनिश्चित गर्ने अमेरिकी युरोपेली कमान्डले जनाएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूबीच भएको बैठकपछि यो सहमति बनेको हो ।
युरोपमा अमेरिकी र नाटो दुवै सेनाका कमान्डर रहेका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविच अबु धाबीमा रहेका थिए । त्यहाँ अमेरिकी, रुसी र युक्रेनी अधिकारीहरूबीच युद्ध अन्त्यसम्बन्धी वार्ता दोस्रो दिनमा प्रवेश गरेको थियो ।
यसैबीच, रुसले युक्रेनको पावर ग्रिडमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनका अनुसार यसले नागरिक मनोबल कमजोर पार्ने उद्देश्य बोकेको छ । करिब एक हजार किलोमिटर लामो पूर्वी र दक्षिणी मोर्चामा लडाइँ जारी नै छ ।
सैन्य हटलाइन पुनः सुरु हुनु युद्धपछि बढेको तनाव कम गर्ने र अमेरिकी तथा रुसी सेनाबीच आकस्मिक टकराव रोक्ने प्रयासका रूपमा हेरिएको छ । मार्च २०२३ मा कृष्ण सागरमाथि अमेरिकी एमक्यू–९ ड्रोन र रुसी लडाकू विमानबीच भएको घटनाले यस्तो जोखिम उजागर गरेको थियो । रुसले उक्त ड्रोन खसालिएको आरोप अस्वीकार गर्दै नो–फ्लाई जोन उल्लङ्घनको प्रतिक्रिया मात्र भएको दाबी गरेको थियो ।
नाटो सदस्य राष्ट्रहरूले सहयोगी हवाई क्षेत्रमा रुसी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नाटो विमानहरू परिचालन गरिएको थियो । त्यसपछि एस्टोनियाको हवाई क्षेत्रबाट पनि रुसी लडाकू विमानहरू हटाइएको थियो ।
युक्रेन र रुसबीचको वार्तापछि कैदी आदानप्रदान पनि भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार १५७ रुसी सैनिक र तीन नागरिक फिर्ता ल्याइएका छन् । युक्रेनी अधिकारीहरूले १५० सैनिक र सात नागरिक रुसी कैदबाट फर्किएको जानकारी दिएका छन् । रिहा गरिएका रुसी सैनिकहरू हाल बेलारुसमा चिकित्सकीय सहयोग लिइरहेका छन् ।
युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले फर्किएका धेरै सैनिकहरू कठिन मनोवैज्ञानिक अवस्थामा रहेको र केही गम्भीर रूपमा कुपोषित देखिएको बताए ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसको आक्रमणपछि करिब ५५ हजार युक्रेनी सैनिकको मृत्यु भएको बताएका छन् । उनका अनुसार अझै धेरै व्यक्ति बेपत्ता मानिएका छन् । युद्धपछिको कुनै पनि सम्भावित रुसी आक्रमण रोक्न अमेरिका र युरोपबाट सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उहाँले दोहोर्याउनुभएको छ ।
मानव अधिकार समूहहरूका अनुसार गत वर्ष युक्रेनी नागरिक हताहत २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि करिब १५ हजार नागरिक मारिएका छन् र ४० हजारभन्दा बढी घाइते भएका छन् ।
अन्य घटनाक्रममा, युक्रेनले रुसी सेनाले फ्रन्ट लाइनमा स्टारलिङ्क इन्टरनेट टर्मिनल प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले किएभ भ्रमणका क्रममा गोला–बारुदको संयुक्त उत्पादन र ऊर्जा सहकार्य विस्तारमा सहमति भएको जानकारी दिएका छन् ।
युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर १८३ ड्रोन र दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । रुसले भने आफ्नो हवाई रक्षाले विभिन्न क्षेत्रमा ९५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया