महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन

काठमाडौँ। जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो ।
महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।
आइतबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे अघि सकिएको थियो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा शुक्रबारदेखि नै सुरु भएको भक्तजनको चहलपहल आज बिहानसम्म पनि कायम रहेको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म पनि भक्तजन लाइनमा बसेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो ।
विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति पनि लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।
गोकर्णेश्वरमा जम्मा भए हजारौँ भक्तजन
यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलिमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।
भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको जनाइएको छ । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमित रुपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ ।
बाणेश्वर र नागेश्वरमा पनि रातिसम्म भक्तजनको लाम
पशुपति क्षेत्रस्थित साविकको गौचरणस्थित हालको त्रिभुवन विमानस्थलबाट गोठाटार क्षेत्रमा स्थानान्तरण गरिएको नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो । त्यो लाम आइतबार रातिसम्म उस्तै थियो । नागेश्वरमा छ जना ब्राह्मणद्वारा चारै प्रहर पूजाआराधना एवं रुद्राभिषेक गरिएको थियो । यो पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा हुने गर्छ ।
नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको लामो लाम लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङग रायमाझीले राससलाई जानकारी दिनुभयो । मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजाआराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिमा बाणेश्वर एवं नागेश्वरको दर्शन गर्नाले मुद्दामामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताए।
यसैगरी राजधानी र देशभरका अन्य शिवालयमा पनि रातिसम्म नै भक्तजनको लाम लागेको थियो । मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व विशेष रुपमा मनाउने गरिन्छ ।

















NC emerges as university of politics: General Secretary Paudel
काठमाडौँ- ५ मा प्रमुख दलका नेताकै बढी चर्चा
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
कांग्रेस अनुशासन समितिको बैठक आह्वान
10 Killed in Armed Attacks in Burkina Faso
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया