बुधबार, चैत १८, २०८२

खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

मेरोन्यूज २०८२ चैत १८ गते १९:३०

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले यस्तो अनुरोध गरेको बैंकले जनाएको छ।

बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट अप्सनमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने उल्लेख गरेको छ। साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको जनाएको छ।

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक छ। उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (ईटीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ। जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ।

साथै, बैंकले इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल अप्सन छनौट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया