सोमबार, वैशाख २१, २०८३

भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी

मेरोन्यूज २०८३ वैशाख २१ गते १२:४२

भारतका विभिन्न राज्यमा सम्पन्न चुनावको मतगणना सोमबार कडा सुरक्षा व्यवस्थाबीच सुरु हुँदा यसको नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ । विशेषगरी पश्चिम बङ्गालमा केन्द्रित यस चुनावी प्रतिस्पर्धालाई राष्ट्रिय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

Advertisement
NiccNicc

अप्रिल र मे महिनामा पाँच राज्य तथा क्षेत्रहरूमा सम्पन्न निर्वाचनपछि अहिले मतगणना भइरहेको छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) विपक्षीको नियन्त्रणमा रहेका राज्यहरूमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा देखिएको छ । राष्ट्रिय संसद्मा बहुमतसहित सत्तामा रहेको भाजपाले यी चुनावलाई आफ्नो पकड थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ ।

सबैभन्दा बढी ध्यान भने पश्चिम बङ्गालतर्फ केन्द्रित छ, जहाँ करिब १० करोड जनसङ्ख्या भएको राज्यमा सन् २०११ देखि सत्तामा रहँदै आएकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस (टिएमसी) लाई हटाउन भाजपाले आक्रामक अभियान चलाएको थियो । हिन्दू राष्ट्रवादी धार बोकेको भाजपाले यसपटक उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

गत हप्ता सार्वजनिक गरिएको एक्जिट पोलहरूले टिएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा देखाए पनि केहीले भाजपालाई झिनो अग्रता दिएका थिए । यद्यपि भारतमा एक्जिट पोलहरूको विश्वसनीयता अघिल्ला अनुभवका आधारमा कमजोर मानिँदै आएको छ ।

राजनीतिक विश्लेषक विश्वनाथ चक्रवर्तीका अनुसार पश्चिम बङ्गालको नतिजाले देशव्यापी राजनीतिक समीकरणमा प्रभाव पार्न सक्छ । उनले कोलकातामा एएफपीसँग कुरा गर्दै यस प्रतिस्पर्धाले शक्ति सन्तुलनलाई नयाँ ढङ्गले परिभाषित गर्न सक्ने सम्भावना रहेको बताए ।

यस चुनावी अभियानमा मतदाता सूचीबाट लाखौँ नाम हटाइएको विषयले पनि विवाद निम्त्याएको थियो । अधिकारीहरूले अयोग्य मतदातालाई हटाउने उद्देश्य रहेको बताएका भए पनि आलोचकहरूले यसलाई सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित कदमका रूपमा व्याख्या गरेका छन् ।

मतगणनाअघि मुख्यमन्त्री ममता बनर्जीले आफ्नो पार्टी विजयी हुने दाबी गरे । उनले भाजपाले सत्ता प्राप्त गर्न नसक्ने बताउँदै अन्तिमसम्म धैर्य राख्न समर्थकहरूलाई आग्रह गरे । यता पश्चिम बङ्गाल भाजपाका प्रमुख समिक भट्टाचार्यले भने जनताले परिवर्तन चाहेको दाबी गर्दै आफ्नो पार्टीको जित सुनिश्चित भएको प्रतिक्रिया दिए ।

पश्चिम बङ्गालमा अघिल्ला चुनावहरूमा हिंसात्मक घटना देखिएकाले यसपटक पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैबीच अन्य राज्यहरूमा पनि मतगणना जारी छ । दक्षिणी राज्य तमिलनाडुमा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको द्रविड मुनेत्र कडगम पुनः सत्तामा फर्किने अपेक्षा गरिएको छ । करिब आठ करोड जनसङ्ख्या भएको यो औद्योगिक राज्यमा सत्तारूढ दल बलियो अवस्थामा देखिएको छ ।

तीन करोड १० लाखभन्दा बढी जनसङ्ख्या रहेको पूर्वी राज्य असममा भाजपाले आफ्नो नियन्त्रण कायम राख्ने अनुमान गरिएको छ । सानो तटीय क्षेत्र पुडुचेरीमा पनि भाजपा सत्तारूढ गठबन्धनको हिस्सा रहेको छ ।

दक्षिणी राज्य केरलामा भने प्रतिस्पर्धा रोचक बनेको छ । करिब तीन करोड ६० लाख जनसङ्ख्या रहेको यस राज्यमा काङ्ग्रेस नेतृत्वको गठबन्धनले कम्युनिस्ट पार्टीलाई चुनौती दिएको छ र एक्जिट पोलहरूले सत्ता परिवर्तनको सम्भावना देखाएका छन् ।

यी राज्यहरूको नतिजाले प्रधानमन्त्री मोदीलाई आन्तरिक र बाह्य दुवै मोर्चामा प्रभाव पार्ने देखिन्छ । उच्च बेरोजगारी दर, आर्थिक दबाब तथा अमेरिकासँगको सम्भावित व्यापार सम्झौता जस्ता विषयबीच यी चुनावी परिणामहरूले सरकारको आगामी रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया