मंगलबार, वैशाख २२, २०८३

ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल,  दुई खेलाडी परिवर्तन

मेरोन्यूज २०८३ वैशाख २२ गते ९:४१

आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

Advertisement
NiccNicc

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

ओमानविरुद्धको पहिलो खेलमा डीएलएस मेथडमा १ सय २ रनको फराकिलो हार व्यहोरेको नेपाली टोली आजको खेलमा त्यो हारको बदला लिन चाहन्छ। नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।

लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।

नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।

कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको  छ ।

लिग २ क्रिकेटअन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमानलाई हराउन सकेको छैन । कीर्तिपुरमा आएको एक जित भने एसीसी प्रिमियर कपको खेलमा थियो ।

यसैबिच मुख्य प्रशिक्षक स्टुआर्ट लले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन्। आजको खेलमा आशिफ शेख र करण केसी प्लेइङ-११ मा आउँदा भीम सार्की र सोमपाल कामी बेन्चमा छन्। 

नेपालको टोलीमा विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी छन्। 

प्रतिक्रिया