आइतबार, माघ ४, २०८२

बलात्कारको आरोपमा बानियाँ निलम्बित भएसँगै एमाले सांसद घट्यो

मेरोन्यूज २०७८ फागुन १७ गते ९:५८

काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।

‘माननीय ज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ ।

मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परेसँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घट्ने छ । जुम्लाकी माओवादी नेतृको उजुरीको आधारमा सांसद बानियाँ पक्राउ परेका हुन् । १८ माघमा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै शिक्षक शाहीले गत २७ माघमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि पक्राउको आदेश लिए पनि लामो समय फरार रहेका बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

हाल बाँके जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका सांसद बानियाँलाई आज अदालतमा म्याद थपका लागि उभ्याइने छ ।

प्रतिक्रिया