शनिबार, फागुन ९, २०८२

ओली भन्छन्-‘गठबन्धनले देशलाई वर्ष दिनमै कंगाल बनायो’

मेरोन्यूज २०७९ भदौ १८ गते १३:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए ।

उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरेका थिए । अध्यक्ष ओलीले भने, ‘यस भन्दा अगाडी दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।

उनले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गरे । नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए ।

उनले अघिल्लो सरकारले ल्याएका आयोजनाहरु कटौती गरेर बेहाल बनाएको दाबी गरे । उनले जात जातलाई भिडाएर आफ्नो दुनो सोज्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘सोही क्रममा उनले भने, एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

प्रतिक्रिया