मंगलबार, चैत ३, २०८२

हचुवामा ४६ करोडको योजना शिलान्यास, टेण्डर र डीपीआर हुन बाँकी

मेरोन्यूज २०७९ असोज ८ गते १४:३१

काठमाडौँ । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कानुनी प्रक्रिया लत्याउँदै मन्त्री चौधरीले जीतपुर सिमरा उपमहानगरभित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा आएका थिए ।

मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया–वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, इनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडक खण्डको शिलान्यास गरेका छन् । उक्त सडक खण्ड जीतपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ ।

यसैगरी, मन्त्री चौधरीले गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ विकासशिल चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पिपलबोटदेखि विकासशिल चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गरेका छन् ।

सघन शहरी विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रमअन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले डीपीआर स्वीकृत नगरेको योजनाका लागि यस वर्ष १७ करोड विनियोजन भएको छ ।

काठमाडौँको मनिषा इन्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डीपीआर तयार गरेको थियो । कानुनी प्रावधानमा भने कन्सल्टेन्टले दिएको डीपीआर प्रतिवेदनमा विभागले उल्लेखित दररेट, विवरण ठिक रहे नरहेको अध्ययन गरी उक्त डिपिआर स्वीकृत गर्नु पर्ने र उक्त डीपीआरकै आधारमा टेण्डर आवहान गरेर ठेकेदार छनौट प्रक्रिया गर्नु पर्ने हुन्छ ।

साढे सत्र लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको डीपीआरलाई स्वीकृत नै नगराई र ठेकेदार टुंगो नलाग्दै मन्त्री चौधरीले शिलान्यासलाई प्राथमिकता दिएका हुन् । निर्वाचनको समयमा हतार गरेर शिलान्यास गरिएको भन्दै स्थानीय स्तरमा मन्त्री चौधरीको आलोचना भएको छ । ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया