३० मा किनेको एक किलो स्याउको भाडा ४० रुपैयाँसम्म

काठमाडौँ । बाजुरा जिल्लामा फलेको स्याउ धनगढी बजारसम्म पुर्याउन पवन कट्टेलले प्रतिकिलो ढुवानी भाडा ४० रुपैयाँ खर्च ब्यहोर्नु पर्यो ।
चाडपर्वमा स्याउको कारोबार गरेर आम्दानी गर्ने सोचसहित धनगढीमा बजारीकरण गरिरहेको भेटिएका कट्टेलले ढुवानी भाडा चर्को भएपछि स्याउको व्यापारमा घाटा लागेको गुनासो गरे ।
किसानको बारीमै पुगेर प्रतिकिलो ३० देखि ४० रुपैयाँमा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, ‘सडकको सुविधा नहुँदा बजारसम्म पु¥याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनु पर्ने किसानको बाध्यता छ ।’
उनले बारीमा बोटबाट स्याउ टिप्नेलाई ज्यालाबापत प्रतिकिलोको १० ब्यहोरेका थिए । प्रतिकिलो ढुवानी खर्च बाजुराको जुकोटलेसीबाट त्रिचोर गाउँसम्म १८ र त्रिचोरबाट कालीकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीसम्म १२ रुपैयाँ खर्च उनले ब्यहोरेका थिए ।
बर्खायाममा गएको पहिराले ठाउँठाउँमा बाटो भत्किएपछि उत्पादित स्याउ आफ्नै प्रदेशको सडकमार्फत बजारसम्म पुर्याउन नसकिएको किसानको भनाइ छ । धनगढी बजारमा कट्टेलले प्रतिकिलो ७० देखि ८० मा स्याउ बिक्री गर्न सके ।
बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उत्पादन भएको स्याउ सडकको असुविधाले आफ्नै प्रदेशमा पर्ने धनगढीसम्म बजारीकरण गर्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला भएर ढुवानी गर्नु पर्ने बाध्यता छ ।
बाजुराको हिमाली भेकका पाण्डुसैन, बूढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरण गर्न भइरहेको समस्यासँगै किसान र व्यापारीले यसको उचित मूल्य पाउन सकिरहेका छैनन् ।
बाजुराको अर्गानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढी लगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयात हुने ठूलो परिमाणको स्याउको कारोबार हुने गरेको छ ।
किसान शाही आफ्नै देशको माटो र हावापानीमा उत्पादन भएको अर्गानिक स्याउको बजार माग बढाउन नसकिएको बताउँछन् । अर्गानिक स्याउखेती गरिँदा कुनै प्रकारको विषादी प्रयोग गरिँदैन । बाजुरा पुगेर फर्किनेको कोसेली त्यहाँ उत्पादन हुने अर्गानिक स्याउ नै हुने गरेको छ ।
कुनै पनि विषादी र हर्मन प्रयोग नगरी उत्पादन हुने अग्र्यानिक स्याउ उपभोक्ताको रोजाइ हुनु पर्नेमा उपभोक्तामा चेतनाको अभावका कारण भारतबाट आयातित हरमन वा अन्य विषादीको प्रयोग गरिएको स्याउको माग फलफूल बजारमा बढी देखिने गरेको बताइन्छ । कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानबापत प्रतिकिलो रु २७ उपलब्ध गराएको कृषकले बताएका छन् । ज्ञान केन्द्रले यसअघि पनि उत्पादित अर्गानिक स्याउको ढुवानीमा अनुदान दिएको थियो ।
अर्गानिक स्याउको स्वाद लिनुभएका स्थानीय राजेन्द्र भट्टले भने, ‘स्याउ रसिलो र स्वादिलो छ, आफ्नै देशको हावापानीमा उत्पादन भएको स्याउ नेपालका बजारमा पुर्याउन किसानले झेलेको समस्या देखिनु विडम्बना हो ।’















क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया