शुक्रबार, फागुन १, २०८२

जसपा = यादव पार्टी !

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभाका ६० प्रतिशत उम्मेदवार यादव समुदायका छन्

शितल शर्मा २०७९ कार्तिक २ गते १३:३४

काठमाडौं । गत असोज २० गते सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको थियो । गठबन्धनमै रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार बैठक छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली भेटन बालकोट पुगे ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसको भोलिपल्टै उपेन्द्रले सत्ता गठबन्धन छोडे । एमाले अध्यक्ष ओलीसँग १४ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा चुनावी तालमेलको सहमतिपत्रमा हस्ताक्षर गरे ।

एमालेलाई प्रतिनिधिसभातर्फको ३५ क्षेत्रमा जसपाले सघाउने र जसपालाई १७ निर्वाचन क्षेत्रमा एमालेले सघाउने सहमति पत्रमा एमाले अध्यक्ष ओली र जसपाका अध्यक्ष यादवले हस्ताक्षर गरे । त्यसपछि शुरु भयो उम्मेदवार चयनको प्रक्रिया ।

२३ असोजमा प्रत्यक्ष तर्फको उम्मेदवार दर्ताको कार्यक्रम निर्वाचन आयोगले तय गरेकोले पनि राजनीतिक दलहरु आ -आफनो पार्टीमा उम्मेदवार चयनको प्रक्रियामा लागे । उपेन्द्र यादव पनि एमालेसँग भएको सहमति अनुसार, आफनो पार्टीको भागमा परेको निर्वाचन क्षेत्रको उम्मेदवारी चयनमा जुटे ।

यादवले एमालेसँग तालेमलका आधारमा १७ स्थानमा उम्मेदवारी छाने । सँगै तराई -मधेसकै थप ३ निर्वाचन क्षेत्रमा एमालेसँगै पनि मिात्रवत् प्रतिस्पर्धा गर्नेगरी जसपाले आफनो तर्फबाट अलग्गै उम्मेदवार खडा गर्‍ यो ।

यसरी उसले मधेसका (एमालेलाई छोडेको निर्वाचन क्षेत्र वाहेक) सवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्‍ यो । यसरी दर्ता गरेको उम्मेदवारीमा यादवले पार्टीभित्र उम्मेदवार पनि यादव समुदायकै बाहुल्यता हुने गरी टुंग्गो लगाएको भन्दै अहिले पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

‘अध्यक्ष यादवले टिकट वितरणमा यादव बाहेक अर्काे समुदायका नेताहरुलाई खासै स्थान नै दिनुभएन, ६० प्रतिशत वढी उम्मेदवार उहाँकै समुदायका मान्छेलाई दिनुभयो,’ जसपाका एक नेताले मेरोन्यूजसँग भने,–‘न टिकट वितरणमा पार्टीभित्र छलफल गर्नुभयो, न सवै समुदायका नेताहरुको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने गरी नै टिकट वितरण गर्नुभयो । उहाँले एकपक्षिय हैकमवाद लागु गर्नुभयो ।’

हुन पनि उपेन्द्र यादवलाई लामो समय देखि पार्टीभित्र जातियताको संरक्षण गरेको र अवसर जति सवै आफ्नै समुदायका नेताहरुलाई दिएको आरोप लाग्दै आएको छ । तर उनले यस्तो आरोपमा सत्यता नरहेको बताएपनि उनले टिकट वितरणमा आफ्नै समुदाय यादव समुदायका नेतालाइ छानी -छानी वितरण गरेबाट उनीमाथी आफ्नो यादव समुदायको मात्रै संरक्षण गरेको आरोप भने लागेको छ ।

तथ्यमा जाँचौं,

१४ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा एमालेसँग जसपाले चुनावी गठबन्धन गर्दा उसले प्रतिनिधिसभातर्फ १७ सिट प्राप्त गरेको थियो । त्यसमध्ये अध्यक्ष यादव सहितका ९ जना यादव समुदायबाटै उम्मेदवार छन् । एमालेसँगै पनि मिात्रवत् प्रतिस्पर्धा गर्ने तय भएको थप ३ वटा निर्वाचन क्षेत्रमा पनि यादव समुदायबाटै उपेन्द्रले नेताहरुलाई टिकट दिएका छन् ।

यसरी हेर्दा कुल २० निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादवले १२ निर्वाचन क्षेत्रमा यादवहरुलाई टिकट दिएका छन् । यो कुल संख्याको ६० प्रतिशत हुन आउँछ । वाँकी ८ निर्वाचन क्षेत्रमा मात्र उनले अन्य समुदायका नेतालाई टिकट दिएका छन् ।

जसकाकारण पनि उनीमाथी जसपालाई यादवहरुको पार्टी बनाएको आरोप निर्वाचनको मुखमा फेरि दोहोरिएर लागेको छ ।

एमालेसँग तालमेल गरेको निर्वाचन क्षेत्रमा यादव उम्मेदवारहरु :

१) सप्तरी २ : उपेन्द्र यादव

२) सप्तरी ४ : वालकिसोर यादव

३) सिराहा २ : राजकिशोर यादव

४) महोत्तरी ३ : हरिनारायण यादव

५) महोत्तरी ४ : सुरेन्द्र कुमार यादव

६) बारा २ : रामसाहायक प्रसाद यादव

७) पर्सा १ : प्रदिप यादव

८) रुपन्देही ४ : ओमप्रकाश यादव
९) मोरङ ५ : राजकुमार यादव

मधेसका निर्वाचन यी क्षेत्र जाहाँ एमालेसँग पनि हुदैछ प्रतिस्पर्धा, त्यसमा पनि यादव नै उम्मेदवार

१) धनुषा २ : आनन्द यादव
२) धनुषा ४ : महाजन यादव
३) बारा ३ : रामवावु कुमार यादव

यादव बाहेक अन्य तालमेलका उम्मेदवार

१) सुनसरी १ : अशोक कुमार राई

२) पर्सा २ : सुरेन्द्र प्रसाद कुर्मी
३) सर्लाही १ : प्रमोद साह
४) सर्लाही ४ : राकेश कुमार मिश्र
५) रौतहट २ : शैलेन्द्र शाह
६) सिराहा ४ : विरेन्द्र प्रसाद महतो
७) धनुषा १ : दीपक कार्की
८) सप्तरी १ : नवल किसोर साह सुडी

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया