सोमबार, मंसिर १५, २०८२

नेपालले एसिया कपमा बनायो स्थान, युएई ७ विकेटले पराजित

मेरोन्यूज २०८० वैशाख १९ गते ११:४३

काठमाडौं । नेपालले एसिया कपमा स्थान बनाएको छ । एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य ३० ओभर ३ बलमा भेटाएर एसिया कपमा स्थान बनाएको हो ।

फाइनल खेलमा युएई ११७ रनमा अलआउट भएको थियो । युएईले दिएको लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । नेपालका लागि गुल्शन झाले ८४ बलमा ६७ रन बनाए भने भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।

यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।

सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई निरन्तरता दिइएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो ।

त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।

उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । उनै ललितले सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।

गुल्सनको यो एकदिवसीय खेलमा दोस्रो अर्धशतक हो।

एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया