‘मर्निङवाक’ सँगै जनताको गुनासो सुन्दै रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । तर, जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।
धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।
धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उनी स्वीकार गर्छन् । यिनै गुनासो चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उनको हिँडाइसँगै भेटघाट शुरू हुन्छ । टोलटोलमा उनी बिहानी हिँडाइ ९मर्निङ वाक० गर्छिन् । स्थानीयसँग भेट गर्छिन्।
गुनासो एवं सुझाव सुन्छिन् र चालु आयोजनाको अनुगमन गर्छिन् । कतिपय स्थानीय उनीसँगै हिड्ने गर्छन् । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा उनी पुगिसकेकी छन् । क्रमशः सबै वडामा पुग्ने उनको योजना छ ।
नियमित बिहानीको हिँडाइसँगै रहने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उनले जानकारी दिए । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ ।
भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिने गरेकी छन् । दाहालले भनिन्, ‘भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।’ नगरवासीका गुनासो सुन्न, सुझाव लिन, उहाँहरूसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको उनले बताइन् ।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । त्यसो त उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि हुन् । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि उनीलाई भेट्न आउने गरेका छन् ।
दाहालको आफ्नो दैनिकी निकै व्यस्थतामा बित्ने गर्दछ । बिहान उठेदेखि राति सुत्ने बेलासम्म उनी नगरवासीकै काममा व्यस्त हुने गर्छिन् । ‘जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु,’ उनले भनिन् ।
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया