बिहीबार, फागुन ७, २०८२

मध्यरात पृथ्वीनारायण शाहको प्रतिमा हटाएको भन्दै पोखराका मेयरको पुत्ला दहन

मेरोन्यूज २०८० साउन २७ गते २०:१६

पोखरा । मध्यरातमा पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलेले मेयरको पुत्ला दहन गरेको हो । मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।

महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।

पोखराका मेयर धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने उनले माग गरे ।

चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको आरोप राप्रपाको छ । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने गुरुङको भनाइ छ । मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मेयर आचार्यले भने सर्वदलीय बैठकको निर्णयअनुसार पृथ्वीनारायणको प्रतिमा हटाएको बताएका छन् ।

प्रतिक्रिया