मंगलबार, फागुन ५, २०८२

तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री शर्मा

मेरोन्यूज २०८० भदौ ८ गते ८:३९

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेकोहुँदा यसलाई माथि उकास्न आवश्यक छ भने।

“समस्या र अभाव छ, त्यहाँ सरकार हुुनुुपर्दछ”, उनले भने, “यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आमनागरिकलाई खुसी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउनु हो ।” ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेश सरकारले कर्णाली प्रदेशलाई साक्षर प्रदेश बनाउने नीति तथा कार्यक्रम ल्याएकाले सङ्घ सरकारसहितका सरोकारवालालाई सहयोग गर्न अपिल गरे। शिक्षा हरेक क्षेत्रको प्रमुख आधार भएको जनाउँदै उनले यसमा सरकारले विशेष जोड दिने तयारीमा लागेको जनाए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणि पौडेलले पहुँचलाई सुनिश्चिता र सबैका लागि शिक्षा भन्ने मूल नारालाई सरकारले अगाडि बढाएको बताए। “हिमाली जिल्लामा आवासीय विद्यालयको व्यवस्थापन गर्ने भनिएको छ”, उनले भने, “ती विद्यालयलाई एक ठाउँमा ल्याएर दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरौँ र सबैलाई शिक्षाको पहुँचमा ल्याऔँ ।” प्राविधिक विद्यालय नपुगेका पालिकामा प्राविधिक विद्यालय स्थापनामा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया