आइतबार, वैशाख २७, २०८३

देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउँछ : ओली

मेरोन्यूज २०८० मंसिर ५ गते १८:२८

वीरगञ्ज (पर्सा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।

Advertisement
NiccNicc

एमाले पर्साद्वारा आज पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताए ।

आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न नेता ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । केही वर्षअघि तराई मधेसका जिल्लामा सञ्चालन गरिएको ‘मेची–महाकाली यात्रा’जस्तै जागरण अभियान यही मङ्सिर १४ गतेदेखि महाकालीबाट सञ्चालन गरिने उनले बताए।

तराईमधेस बहुप्रतिक्षित हुलाकी सडक, मदनभण्डारी लोकमार्ग, पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति, जनता आवास कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजना एमाले नेतृत्वको सरकारले ल्याएको अध्यक्ष ओलीले दाबी गरे ।

पार्टी सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले देशलाई विकासको बाटोमा अघि बढाउन नेकपा एमाले क्रियाशील रहेको बताए । त्यस अवसरमा जनता समाजवादी पार्टी परित्याग गरेका पूर्वसांसद हरिनारायण रौनियारलगायत नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराए ।

प्रतिक्रिया