आइतबार, वैशाख २७, २०८३

नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

मेरोन्यूज २०८० मंसिर २० गते १७:२८

काठमाडौं । नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये १२ जनालाई बुधबार कामाडौँ प्रहरी प्रहरीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

Advertisement
NiccNicc

काठमाडौं प्रहरीले ११ जनालाई मंशिर १३ गते र थप एक जनालाई १८ गते पक्राउ गरेको थियो । उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो।

मंसिर १३ मा पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल रहेका छन् । त्यस्तै मंशिर १८ गते पक्राउ पर्नेमा थप एक जना द्रोण डाँगी रहेका छन् ।

यस्तै नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहबाट ४३ थान पासपोर्ट फेला परेको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकी सुजता दाहालको कार्यालयबाट २७ थान र ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट बरामद भएको हो। दाहालको कार्यालयबाट १४ लाख १८ हजार ५ सय रुपैयाँ र अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले बताएको छ।

युक्रेन र रुसको युद्ध जारी भइरहेको बेलामा नेपाल सरकारले रुसलाई नेपाली युवाहरुलाई सेनामा भर्ति नर्गन र विगतमा भर्ति भएकाहरुलाई फिर्ता पठाउन कूटनीति नोट पठाइसकेको छ । युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया