आइतबार, वैशाख २७, २०८३

मोहन वैद्यले भने- अस्थायी संयुक्त सरकार बनाऔं

मेरोन्यूज २०८० मंसिर २१ गते २१:१४

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य (किरण)ले अस्थायी संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन् । वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै उनले त्यस्तो प्रस्ताव अगाडी सारेका हुन् ।

Advertisement
NiccNicc

बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरु असक्षम र संकटग्रस्त बन्दै गएको बताएका हुन्। उनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका हुन्।

उनले सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताए।

त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्नुपर्ने बताएका हुन् ।

अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पारे। उनले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गरे।

अध्यक्ष वैद्यले राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा भएको भन्दै त्यो यात्रा अस्वीकार्य रहेको बताए। त्यस्तै सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेका उनको भनाई छ।

प्रतिक्रिया