शनिबार, वैशाख २६, २०८३

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ

मेरोन्यूज २०८० पुष २४ गते १८:०१

काठमाडौँ । विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

सर्बिया पठाइदिन्छु भन्दै रु १३ लाख ५० हजार ठगी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकाशकुमार घले र काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कर्मचारी ३९ वर्षीय सञ्जय लामालाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यस्तै पोल्याण्ड पठाइदिन्छु भन्दै रु दुई लाख १५ हजार ठगी गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका–५ घर भई काठमाडौँको तार्केश्वर नगरपालिका–८ जरंखु बस्ने ३० वर्षीया पूजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भनी ठगी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहटको बुद्धावन नगरपालिका–४ घर भई काठमाडौँ–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल साह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामङ्गलबाट पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया