बिहीबार, माघ २९, २०८२

आफ्नो पहिचान खुलाउनेलाई कारबाहीको माग गर्दै गौशाला २६ पुगिन् साइबर ब्युरो

मेरोन्यूज २०८० पुष २६ गते १५:१४

काठमाडौं । जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा बिहीबार उजुरी दिएकी छन् ।

आफ्नो नाम र तस्बिर सार्वजनिक गरेकाे भन्दै पहिचान खुलाउने व्यक्ति र सामाजिक सञ्जालका पेजलाई कारबाहीको माग गर्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्। ६ वटा सामाजिक सञ्जालको नाम उल्लेख गर्दै दुई कसुरमा कारबाही गर्न उनको माग छ।

‘गौशाला २६’ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

गौशाला २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुन् । काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

यसअघि पीडित युवतीको पहिचान सार्वजनिक गरेको भन्दै रास्वपाले पार्टीका प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया