शुक्रबार, वैशाख २५, २०८३

विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन नेपालमा

मेरोन्यूज २०८० माघ २५ गते १७:४१

काठमाडौँ । विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

Advertisement
NiccNicc

मञ्चअन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।

विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहसका लागि विश्वका ९१ मुलुकका एक हजार एक सय ६५ संस्था सहभागिताका लागि दर्ता भएका पत्रकार सम्मेलनमा नेपाल आयोजक समितिका सदस्य डा नेत्र तिमिल्सिनाले जानकारी दिए ।

नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनमा आर्थिक असमानता र न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने उनले बताए ।

ती विषयमा चार सय कार्यपत्र प्रस्तुतिका लागि दर्ता भएका छन् । उक्त कार्यपत्र प्रस्तुतिमा ४० देखि ५० हजारको सहभागिता रहने अपेक्षा गरिएको समितिका सदस्य ओम थपलियाले बताए ।

समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकले ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउने बताए ।

प्रतिक्रिया