इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।
नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको हो ।
नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलोपटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । “नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ । नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ”, उनले भनिन्, “चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ ।”
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार भएको छ । गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थीमात्र सबै विषयमा उत्तीर्ण भएकामा यस वर्ष ४० दशमलव ६३ प्रतिशत उत्तीर्ण भएको नगरप्रमुख राईले बताइन् । गत वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको थियो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो । शैक्षिकसत्र २०८०/८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँचजना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया