आइतबार, पुष १३, २०८२

उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन

मेरोन्यूज २०८१ जेठ २१ गते २१:४९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च मनोबल बनाएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमबार प्रदेश प्रहरी कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीको उच्च मनोबल बनाउन प्रदेश सरकारले स्रोतसाधनले पूर्ण बनाउनेतर्फ लागेको बताए ।

‘प्रहरीका लागि उपकरण, सवारीसाधन, भवन निर्माण गरिरहेका छौँ । आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएर प्रहरीको मनोबल उच्च बनाइनेछ । त्यसैले उच्च मनोबलका साथ काम गर्नुस्, हामी साथमा छौँ,’ उनले भने ।

विश्वका धेरै मुलुकभन्दा नेपाल सुरक्षित भएको र यसको श्रेय प्रहरीलाई जाने बताउँदै मुख्यमन्त्री कार्कीले थप सुरक्षालाई मजबुत बनाउन प्रहरी लाग्नुपर्ने बताए ।

उनले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री कार्कीले आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पनि निकै काम गरेको र अहिले पनि प्रहरीलाई आधुनिक बनाउने काममा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनबाट पनि प्रहरीले काम गर्न सकेकोमा खुसी व्यक्त गरे। उनले प्रहरी जिउँदो भगवान् भएको टिप्पणी गरे ।

कार्यक्रममा प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बोलेका थिए ।


प्रतिक्रिया