बिहीबार, फागुन ७, २०८२

ध्रुवे हात्तीले लखेट्दा गैँडा गणनामा गएका पाँच घाइते

मेरोन्यूज २०७७ चैत २० गते २१:०८

कावासोती । गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उनले बताए । गैँडा गणनाको क्रममा जङ्गली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् । गणनामा खटिएको हात्तीलाई जङ्गली ध्रुवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएको उनले बताए । घाइते हुनेको सङ्ख्या एकीन नभएको भए पनि कम्तीमा पाँच जना हुनसक्ने उनकाे भनाइ छ ।

हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीकाे हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिए ।

ध्रुवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर घाइते भएको प्रमुख बरालले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते छन् । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडाैं लगिएको छ । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया